खारेत राेगबारे पर्चा

परिचय

खोरेत रोग गाई, भैसी, बंगुर लगायत अन्य खुरफट्टा जनावरहरुमा लाग्ने अति छिटो फैलिने पिकोर्ना जातीको विषाणुबाट लाग‍्ने प्रमुख सिमाबिहिन पशु रोग हो । खोरेत रोग लागेको जनावरसंग संपर्क भएमा वा दुषित दाना, पानी र हावाको माध्यमबाट महामारीको रुपमा फैलने गर्दछ । रोगको असर लामो समय सम्म रहन सक्दछ । यो रोगबाट संक्रमण हुन सक्ने जनावरहरुको समुहमा रोगले असर गर्ने प्रतिसत झण्डै १०० हुन सक्दछ । स्थानीय बयस्क गाई , भैसीहरुमा खोरेत रोग देखा परेतापनि यो रोगको कारण मृत्यु कमै हुने गर्दछ भने बाच्छाबाच्छी, पाडापाडी र बंगुरका पाठापाठीहरु खोरेत रोग लागि अत्यधिक संख्यामा मर्ने गर्दछन् ।

 

खोरेत रोगको लक्षण

१‍  ज्वरो आउने, ्याल चुहाउने, लंगडाउने ।

२‍  दुधालु गाई, भैसीको दुध उत्पादन घट्ने ।

३ ‍ मुख र खुरको कापकोे साथै थुतुनो र थुनमा पानी जस्तो तरल पदार्थ भरिएको साना साना फोकाहरु देखिने हुन्छ ।

४‍  ब्याउने पशुहरु तुहिन सक्ने र साना बाच्छाबाच्छी, पाडापाडी र पाठापाठीहरु मर्न सक्दछन् ।

 

रोग सर्ने माध्यम

१. खोरेत रोग फैलने मुख्य कारण रोगी वा रोगाणुबाहक जनावरको आवतजावत हो । नेपालमा खास गरि गाई, भैसी, खसी, बोका, रांगो, गोरु र बंगुरको अनियन्त्रित ओसारपसार, सामुहिक र घुम्ति चरन पद्धतिको कारण पशुको संपर्क बढ्नाले रोग फैलाउन मद्धत पुग्ने गरेको पाईन्छ ।

२.‍ कृषक, भेटेरिनरीयन तथा पशु प्राविधिकहरु खोरेत रोग फैलिएको एक गोठमा भएको पशुसंगको संपर्क पछि अर्को गोठमा जांदा जनावरसंगको संपर्कबाट पनि फैलन सक्दछ । अतः रोगी जनावरसंगको संपर्क हुंदा हात, कपडा तथा अन्य माध्यमबाट पनि सर्ने भएकोले  पि.पि.ई.लगाउने र एक गोठबाट अर्को गोठमा जानु पर्दा डिसिन्फेक्टेन्ट जस्तैः०.२ प्रतिसत साईट्रिक एसिडको झोलले प्रयोग भएको व्यक्तिले लगाएको कपडा, हातको पञ्जा र बुटमा राम्रोसंग स्प्रे गरि जानु पर्दछ ।

 

 खोरेत रोग लागेका जनावरहरुमा आँखाले देख्न सकिने निम्न किसिमका लक्षणहरुको आधारमा रोगको अवधि अन्दाज गर्ने ।

 

गाई भैसीमाः

पहिलो दिनः शुरुमा बढी ्रर्याल  फिंज काडने, ज्वरो आउने, लंगडाउने, दुध घट्ने, मुख बाउने र झोक्राउने हुन्छ । पानीले भरिएको फोको (Fluid filled vesicles)  बनेको देखिन्छ । छाला हल्का सेता हुदै पहेलो भएर अलि माथी उठेको हुन्छ ।

दोश्रो र तेश्रो दिनमाः जिभ्रोको फोका vesicles फुट्दछन तर धेरै जसो घाउको सतह (Epithelium) हल्का सेता पहेलोे White and pale देखिन्छ र टाँसिएर बसेको बाक्लो छालाको भित्रि भाग रातो देखिन्छ ।

चौथो र पाचौ दिनमाः घाउको सतह (Vesicular Epithelium) हराएर जाने र पहेलो Epithelium किसिमको पदार्थ जस्तो फाइब्रिन जम्मा हुन्छ ।

छैटौं र सातौ दिनमाः घाउ निको हुने अवस्थामा पुगेको देखिन्छ ।

आठौ, नवौ र दशौ दिनमाः मुख भित्र जिभ्रोमा भएको घाउ निको हुने अवस्थामा देखिने ।

 

भेडा बाख्रामा

पहिलो दिनः प्रष्ट लक्षण थाहा पाउन नसकिएतापनि मुख र खुरमा घाउ (Lesion )  देखिन्छ साथै लंगडाउने, ज्वरो आउने, झोक्राउने हुन्छ । यी लक्षण मध्यम (Mild) नैे देखिन्छन् ।

दोश्रो दिनः मुख भित्र तल्लो बंगरा र माथिल्लोे भागमा घाउ उक्किई रातो देखिने ।

तेश्रो दिनः भेडाको खुट्टाका रौ झरेको देखिने र हल्का रातोपना देखिएतापनि निको हुने अवस्थामा देखिने ।

पाचौ र छैटौ दिनः जिभ्रोमा भएका घाउहरु निको हुने अवस्थामा देखिने । ब्याउने भेडी तुहिन सक्ने ।

 

बंगुरमा

पहिलो दिनः शुरुमा ज्वरो आउने, झोक्राउने, लंगडाउने, दानापानी खान मन नगर्ने सामान्य नै भएतापनि खुट्टाको खुर वरिपरि रातोपना देखिने, सुनिने, छाम्दा तातो हुने हुन्छ ।

दोश्रो दिनः बंगुरको खुर उक्किई रगत बगे जस्तो देखिने ।

तेश्रो दिनः बंगुरका खुरहरु रातोबाट कालो दाग हुदै निको भए जस्तो देखिन्छ ।

 

खोरेत रोग पटक पटक देखिने कारण

खोरेत रोग एकै किसिमको हुने भान परेतापनि वास्तवमा रोगको प्रकोप, महामारीको रुप र विरामी जनावरमा देखिने घातक स्थिति धेरै हदसम्म खोरेत विषाणुको जात, उपजात र स्ट्रेनमा निर्भर गर्दछ । छिमेकी देशहरुमा ओ, ए, र एसिया १ सिरोटइपले खोरेत विषाणु रोग फैलाउन सक्रिय रहेको र नेपालमा पनि यिनै सिरोटइपहरु देखिएको छ । सन २०२२ देखि नेपालमा ‘ओ’ जात मात्र देखिने गरेकोे छ । साधारणतया महामारीको बेला कुनै एक जातको खोरेत विषाणु सक्रिय भए तापनि कतिपय अवस्थामा एक भन्दा बढि जातका खोरेत विषाणु महामारी फैलाउने कार्यमा संलग्न रहन्छन् । यस्तै कुनै क्षेत्रमा ‘ओ’ जातको खोरेत विषाणुको कारण रोग लागेर निको भएको जनावरलाई केहि समय सम्म पुनः ‘ओ’ जातको खोरेत विषाणुको कारण रोग नलाग्न सक्दछ तर अन्य जातका (‘ए’,‘एसिया १’) खोरेत विषाणुले सोहि जनावरहरुमा महामारी फैलाउने भने गर्दछ ।

खोरेत रोग लागेको जनावरहरु सामान्यतया नमर्ने र १—२ हप्ता भित्रै विरामी जनावरको स्वास्थ्य स्थिति सुधार भई रोग मुक्त भएको जस्तो देखिएतापनि लामो समयसम्म त्यस्ता जनावरहरुले खोरेत विषाणु बोकी हिड्ने र रोग सार्ने पनि गर्दछन् । खोरेत रोग लागेका झण्डै ५० प्रतिशत गाई, भैसी, भेडा, बाख्रा र बंगुरले रोगको विषाणु लामो समय सम्म आफ्नो शरिरमा पालि राख्दछ र यस्ता जनावरहरु नयाँ क्षेत्रमा पुग्दा अन्य जनावरहरुलाई खोरेत रोग सार्न सक्दछन । भेडा, बाख्रामा खोरेत रोग लागेको गाई, भैसीमा जस्तै स्पष्ट थाहा हुने लक्षण देखा नपरेतापनि ओसारपसार गर्दा नयाँ ठाउँमा लैजाँदा खास गरि गाई, भैसी र बंगुरमा रोग सार्न महत्वपुर्ण भुमिका खेल्ने गरेको पाईन्छ । खोरेत रोगको स्पष्ट लक्षण देखा पर्नु भन्दा २ दिन अगाडिको दुधमा खोरेत विषाणु पाईन सक्ने र काँचो दुधको ओसारपसारबाट पनि रोग फैलाउन मद्धत पुग्ने गर्दछ ।